एमाले बाँडीचुँडी खाने पार्टी होइन : ओली

काठमाडौं , माघ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा अरु दलहरुले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको अराोप लगाउँदै उनले कार्यकर्ताहरुलाई भने, ‘उनीहरुको देखासिखी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्नुहोस् ।’

समाजलाई मार्गदर्शन गर्न सक्ने र समाजलाई बदल्न सक्ने राजनीतिक गर्न उनले निर्देशन दिए । एमाले दलबल गर्ने, केही प्राप्ति गर्ने र त्यो बाँडीचुँडी खाने पार्टी नभएको पनि उनले बताए ।

सामाजिक असन्तुष्टिलाई उपयोग गरेर र मौसमी खालका कुरा गरेर केही दल र नेताहरु ह्वात्त माथि आएको भन्दै उनले उनीहरुको राजनीति अस्थायी रहेको बताए । ओलीले भने, ‘हामीले त्यसरी एक अवधिको एउटा भुल्कोको राजनीति गर्ने होइन, त्यो दिगो हुँदैन ।’

‘कांग्रेसमा त छलफल नै भएन । केही कुरा उठेन । खाली पदाधिकारी छान्ने’, ओलीले भने । कांग्रेसले नीति महाधिवेशनमा जान नचाहेको उनको भनाइ छ । कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर उनले गरे ।

देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको उनले बताए ।
कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास नहुने उनले बताए । उनले कांग्रेसले आफू सरकारमा हुनु नै विकास ठान्ने गरेको पनि बताए । ‘उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ, त्यही हो लोकतन्त्र, त्यही हो विकास’, ओलीले कटाक्ष गरे ।

प्रतिक्रिया दिनुहोस्