अब बोतल र जर्किनमा पेट्रोल बेचे कारवाही हुने

काठमाडौं , माघ ११ । नेपाल प्रहरीले पेट्रोलियम पदार्थलाई खुलारुपमा बोतल र जर्किनलगायतका सामग्रीमा बिक्री नगर्न र सिधै सवारीसाधनमा भर्न आग्रह गरेको छ ।

अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ खुलारूपमा बिक्री–वितरण गर्दा असुरक्षासँगै आत्मदाहका घटना बढेकाले उक्त निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हिजो  दिउँसो नयाँबानेश्वरको संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए । उनको कीतिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ । सोही घटना भएपछि असुरक्षा भएको भन्दै प्रहरीले उक्त विज्ञप्ती मंगलबार राती सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आदेश दिएका छन् ।

पेट्रोल पम्पबाट सिधै सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्