प्रहरीको लापरवाहीले ज्यान गएको भन्दै जनकपुरमा प्रदर्शन, मागियो गृहमन्त्रीको राजीनामा
काठमाडौं, माघ ९ । जनकपुरधाम उपमहानगरपालिका–१३ का विष्णु साह र वडा नम्बर–८ का रोहित साहको अपहरणपछि भारतमा गरिएको हत्यालाई लिएर स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
अपहरणपछि हत्या गरिएका परिवारजन तथा स्थानीयले घटनाको विरोधमा जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गरेका छन् । सोमबार उनीहरुले जनकपुरधामको पिडारी चोकस्थित सडक अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका हुन् । प्रहरीकै लापरबाहीले ज्यान गएको भन्दै उनीहरुले उक्त प्रहरीलाई कारबाहीको माग राखेका छन् ।
गत पुष २६ गते रोहित मामाको घरमा विष्णुलाई लिएर भोज खान भारतको विहार राज्य परिहार गएका थिए । दुबै जना त्यहीबाट अपहरणमा परे । अपहरणकारीले साहद्वयको परिवारमा फोन गरी १० लाख फिरौती रकम माग गरेका थिए । फिरौती रकम जोहो गर्दै गर्दा आइबार उनीहरूको शव भारतको सितामढी जिल्लास्थित पर्सामा फेला परेको थियो ।
परिवारजनले गत पुष २९ गते प्रहरीलाई प्रमाणसहित जानकारी गराएको दाबी गरिरहेका छन् । परिवारजनले पहरीलाई फोन नम्बर र फिरौती रकम मागेको अडियो रेकर्ड समेत उपलब्ध गराएका थिए । तर प्रहरी उनीहरुलाई बेवास्ता गरेको आरोप लगाइएको छ ।
प्रहरीले समयमा चासो नलिँदा हत्या भएको उनीहरूको भनाइ छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नेपालमा र चार जनालाई भारतमा पक्राउ गरिसकेका छन् । यद्यपि घटनाको मुख्य योजनाकार भने फरार छन् ।
प्रहरीले मनरा सिस्वा नगरपालिका २ का किसन पण्डित र मुकेश पासवानलाई नेपालबाट पक्राउ गरेका छन् । भारतीय प्रहरीले पक्राउ गरेको बारे नेपाल प्रहरीले संख्या खुलाए पनि नाम खुलाएका छैनन् । उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् ।
जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन् । पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुटो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन् ।
प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ । परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुबै जनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ । उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्