तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप: गण्डकी, आर्मी र सशस्त्र प्रहरीको जित
काठमाडौं, माघ ८ । टाईगर कपको पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको छ।
स्पाईक, ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आइतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो।
रवि केसी, हरि पाण्डे र नितिनको कम्बिनेसन देखिएको खेलमा गण्डकीले पहिलो सेट आफ्नो पक्षमा पार्न प्रतिस्पर्धा नै गर्नुपर्यो। पहिलो सेट २५–२३ को सेटमा गण्डकीले आफ्नो पक्षमा पार्दै पुलिसमाथि दबाब सृजना गर्यो। दोस्रो सेटमा पुलिस अझै कमजोर बन्यो। २५–२० ले दोस्रो सेट जितेपछि पुलिस अझै कमजोर बन्न पुग्यो। नितिनको उत्कृष्ट ब्लक र क्विक प्रहार गर्दै पुलिसलाई हायलकायल बनाएको गण्डकीले तेस्रो सेट २५–१६ मा लियो। अन्तिम सेट १७–७ अंकले अग्रता लिएको गण्डकीले अन्तिम सेट लिँदा पुलिसले कम ब्याक संकेत देखाउन खोजेपनि आत्मविश्वासी बन्न सकेन्।
टाईगर ग्रुपको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा पुरुषतर्फको अर्को खेलमा सशस्त्र प्रहरी बलले उत्कृष्ट कम ब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको सुरुवात गर्यो। क्लब स्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कम ब्याक गर्दै ३–१ को सेटमा जित आत्मसात गर्यो। पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफ्नो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो।
पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफ्नो लय कायम राख्न सकेन्। सशस्त्रमाथि हाबी देखिने आँकलन गरिए पनि आर्मीले फितलो प्रदर्शन गरेपछि पछिल्लो तीनै सेट सशस्त्रलाई सुम्पिन पुग्यो। सशस्त्रले २५–२२, २६–२४ र २५–१९ को सेटमा आर्मीको चुनौतीलाई पन्छायो।
महिला तर्फ आर्मीले होङ्गवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद यात्रा तय गर्यो। आइतबार भएको महिला तर्फ पहिलो प्रतिस्पर्धामा आर्मीले न्यु डायमण्डमाथि २७–२५, २५–१७ र २५–२३ को प्रतिस्पर्धात्मक रुपमा आफ्नो पक्षमा पार्दै जित निकाल्यो। न्यु डायमण्डकी प्रतिभाको अनुपस्थितिले पनि आर्मीलाई जित निकाल्न सकस भएको थियो।
टाईगर ग्रुपले तेस्रो संस्करणमा आइपुग्दा पुरस्कार राशि बढाइएको छ। महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५–५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेस्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए। उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्