राष्ट्रिय सँस्कृतिमा विदेशी हस्तक्षेप बढ्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको बताएका छन् ।
आज (आइतबार) टुँडिखेलमा आयोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ,’ प्रचण्डले भने ।
विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’ बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत उनको भनाइ छ । ‘एकातिर सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी छ भने अर्कोतिर बैदेशिक सांस्कृति हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा छौं,’ प्रचण्डले भने । नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । टुँडिखेलमा आयोजित आइतबार सोनाम ल्होछार कार्यक्रम प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् ।
दाहाल तामाङ समुदायको पोसाक लगाएर ल्होछार कार्यक्रममा पुगेका छन् । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मनाउने गर्दछन् । ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायले यो दिन हर्सोल्लासका साथ मनाउँछन् ।
प्रतिक्रिया दिनुहोस्