कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको र्सिजना हुन्छ : अध्यक्ष नोपल

काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला र्सिजना हुने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासंघ र स्वयंमसेवक आवद्ध सामाजिक संस्थाद्वारा यहाँ आज आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममाअध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षिय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि राष्ट्रिय पूँजी सङ्कलनको खाँचो औँल्याउनुभयो ।

देश र जनतालाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले उपभोग्य वस्तु तथा उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाई थियो । समाजवादी दर्शनले जनताको सुख र समृद्धिको चाहना राख्ने बताउँदै उक्त विचारमा आबद्ध अनुयायीले स्वरोजगारी तथा उद्यमशीलताको विकास गर्ने गरेको धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले स्वदेशी उत्पादनको प्रयोग गरी आयात न्यूनीकरण र निर्यात बढाउन सकेमा बढदो वैदेशिक व्यापार घाटा कम गर्न सकिनेमा जोड दिनुभयो ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले विसं २०१७ मा मुलुकमा छरिएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न किसान आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कृषि, कृषक र जीवनकाबीचमा गहिरो सम्बन्ध रहेको उहाँको भनाई थियो ।
महासंघका महासचिव प्रमेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य मोहन गौतम, युवा कृषक सुशील खनाललगायतले कृषि क्षेत्रलाई आधुनिकरण गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्