प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गर्यौं : शेखर कोइराला
काठमाडौं, माघ ८ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर गल्ती गरिएको बताएका छन् ।
संस्थापन इतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरिएको बताएका हुन् । आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनले बताएका छन् ।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन । दिएर गल्ती गरियो । तटस्थ बसौं भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो ।’
सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए ।
पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइराला पक्षको बैडक बत्तीसपुतलीमा जारी छ । आन्तरिक छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेस सभापतिहरु सहभागी छन् । छलफल काठमाडौंस्थित अनुपम फुडल्याण्डमा भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्