प्रश्नले घेरिए गृहमन्त्री
काठमाडौं, माघ ८ । शुक्रबार प्रतिनिधिसभाको बैठक शुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुख देवराज घिमिरेसँग विशेष समय माग गरे ।
सभामुख भएर सभा चलाउन आएको पहिलो दिन आफ्ना कुरा राख्न समेत सभामुखलाई नदिएर खतिवडाले. गृहमन्त्री रवि लामिछानेले गरेको प्रतिवद्धतामाथि प्रश्न उठाए । उनले गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराए ।
कुनै अपराधी पक्राउ गर्न विज्ञप्ति नै जारी गर्ने कुराले ठिक परिपाटीको विकास नहुने भन्ने उनको चिन्ता थियो । उनले भने, ‘अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन ।’
प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उनले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गरे । गृहमन्त्रि रवि लामिछानेलाई प्रहरी प्रशासनले नटेरेको भन्ने टिप्पणी सार्वजनिक भइरहेका बेला सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन् । खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग माग समेत गरेका थिए ।
गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारवाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री लामेछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको थियो ।
‘निज प्रतिवादीलाई कानुन बोजिम पक्राउ गरी तत्काल कारवाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो ।
गत बिहीबार कांग्रेस सांसद खतिवडाले संसदमै प्रश्न उठाएका थिए । त्यस दिन गृहमन्त्री लामछानेले सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन दिइसकेको बताएका थिए । सोही अनुसार गृहमन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरेको थियो । सोही विज्ञप्तीमाथि शनिवार संसदमा फेरि प्रश्न उठ्यो ।
अर्थात, सरकार र सरकारी निकायमाथि सिधा प्रश्न गर्ने र कमजोरी भेटाउँने वित्तिकै सिस्टम र अभ्यासको कुरा नगरी तत्काल सम्बन्धित अधिकारीलाई निकम्मा करार गरिदिने पूर्व टेलिभिजनकर्मी लामिछानेको तरिका थियो । तर, अहिले यस्तै तरिकाबाट हैरान भएको वर्तमान गृहमन्त्री लामिछाने निकटस्थहरुसँग बताउँछन् । तथापि, उनी प्रश्नहरुबाट भाग्न सकिरहेका छैनन् ।
शनिवार नै नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पत्रकाहरुको प्रश्नले घेरिएका गृहमन्त्री लामिछानेले लक्ष्मी महतो कोइरी प्रकरणमा छिट्टै रिजल्ट आउने दाबी गरे ।
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका थिए । उनलाई पक्राउ गर्नुपर्ने आवाज संसदमै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर उनी पक्राउ परेका छैनन्, बरु संसद बैठकमा नियमित जस्तो उपस्थित हुने गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताए । सत्तारुढ दलको सांसदलाई कसरी पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला ।’















प्रतिक्रिया दिनुहोस्