विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

काठमाडौं, माघ ६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकको हक र हितको लागि वर्तमान सरकारले केही नयाँ गर्न चाहिरहेको बताएका छन् ।

विदेशमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको भन्दै सरकार उनीहरूको हकहितको लागि अहोरात्र खटिएर काम गर्ने बताए । सरकार ऐन संशोधनदेखि लिएर व्यवसायीहरूका समस्या समाधानका लागि प्रतिबद्द रहेको बताए । वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न व्यवसायीहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए । ‘हामीले मिलेर नयाँ काम गर्नुपर्छ । त्यसका लागि सरकार तयार छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ’, उनले भने, ‘विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्ति रकममा वृद्धि लगायत महत्वपूर्ण काम भएका थिए । यस पटक विदेशका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु ।’

प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए । ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु,’ उनले भने, ‘देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।’ प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे ।

‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ’, उनले भने, ‘यसलाई व्यवस्थित र मर्यादित बनाउनै पर्छ । यसभित्र थुप्रै विकृति र विसंगति छन्, अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईहरूको साथ हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्