यती एयर दुर्घटनाको प्रभाव पर्यटन क्षेत्रमा : गोष्ठि–बैठकदेखि पाहुनाको यात्रा नै रोकियो
काठमाडौं, माघ ५ । आन्तरिक उडानतर्फ ठुलो संख्यामा मानवीय क्षति हुने गरि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछिको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। उक्त हवाई दुर्घटनामा १५ जना विदेशी पाहुना सहित ७२ जनाको ज्यान गएको थियो।
घटनापछि पोखरा आउने विदेशी पाहुनाको आगमन प्रभावित भएको र दुर्घटनाको असर आन्तरिक पाहुनाको आगमनमा समेत परेको व्यवसायीले बताएका छन्।
व्यवसायीका अनुसार पर्यटन क्षेत्रमा अफिसिजनको समय हो अफसिजन बाहेक कोरोना भाइरस संक्रमणपछि पर्यटन क्षेत्र अझै पनि कोरोना भन्दा अघिको अवस्थामा फर्किन सकेको थिएन। अफसिजन र कोरोना प्रभावका कारण पर्यटक आगमन आफैमा कम भईरहेको बेला हवाई दुर्घटनापछि पाहुनाको आगमनमा झनै गिरावट आएको व्यवसायीले बताएका छन्।
विदेशी पाहुना आगमन बाहेक आन्तरिक पाहुनाको आगमन पनि प्रभावित भएको छ। कतिपय गोष्ठि, बैठकका कार्यक्रम पनि रद्द भएको व्यवसायीले बताएका छन्। गैरसरकारी संस्थाका गोष्ठि बैठक यो बेला बढी प्रभावित भएको छ ।स्थलमार्गको यात्रा झन्झटिलो हुँदा पछिल्लो समय आन्तरिक यात्रुले पनि हवाई मार्ग रोज्न थालेका थिए।
आन्तरिक यात्रु थपिँदा कोरोना भाइरसपछिको अवस्थामा पनि पर्यटन क्षेत्रलाई केही राहत मिलेको थियो। तर, अहिले आन्तरिक पाहुनाको आगमन पनि प्रभावित भएको व्यवसायीले बताएका छन्। विभिन्न मुलुकका पाहुना यो घटनामा परेका छन। हवाई यात्रामाथि तत्कालका लागि प्रश्नचिन्ह् उठेको छ।
प्रतिक्रिया दिनुहोस्