कांग्रेस राजनीतिक कोर्ष अघि बढाउन असफल भएपछि एमालेले भूमिका खेल्यो : भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसक्दा एमालेले अग्ररता लिएको बताएका छन् ।

उनले पुस १० गते अपरान्हसम्म राष्ट्रपति र सभामुख एमालेले नमागे पनि कांग्रेसले पहल नगर्दा एमालेको अग्रसरतामा नयाँ राजनीतिक कोर्षको शुरु भएको बताए ।

आज (बिहीबार) प्रतिनिधिसभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावको पक्षमा बोल्दै उनले पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जाने बताए ।

‘हामीले यो एउटा राजनीतिक कोर्ष हो, जाओस् ठिकै छ भन्यौं । त्यसबेलासम्म हामीले हाम्रो दल प्रतिपक्षमा बस्छ र भूमिका खेल्छ भनेका थियौँ’, भट्टराईले भने, ‘तर जसले त्यो राजनीतिक कोर्ष अगाडि बढाउनुपथ्र्यो, उहाँहरु असफल हुनुभयो ।’ उनले एमाले यो संविधानलाई धरापमा पर्न नदिन अग्रसर भएको पनि बताए । ‘हाम्रो पार्टी अध्यक्षले अग्रसरता लिएर नयाँ राजनीतिक कोर्ष निर्माण भएको छ । यो राजनीतक कोर्ष एउटा कक्षामा एउटा कोर्ष पढाई हुन्छ । त्यो शैक्षिकसत्र नसकिदै अर्को कोर्ष बदलिदैन’, सांसद भट्टराईको भनाइ छ ।

‘मत एकातिर, आँखा अर्कैतिर हो कि जस्तो लाग्दैछ’
एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले संसदमा दिइएका अभिव्यक्तिले विश्वासको मत एकातिर आँखा अर्कैतिर भएको संकेत गरेको बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसतर्फ लक्षित गर्दै भट्टराईले संसदमा दिइएका अभिव्यक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको विश्वासको मत एकातिर नजर अर्कैतिर भएको हुन सक्ने बताए ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिँँदै गर्दा संसदमा गरिएको राजनीतिक टिप्पणीले विश्वासको मत एकातिर आँखा अर्कैतिर त होइन भन्ने प्रश्न उठाएको छ’, भट्टराईले भने, ‘खैर, त्यस्तो हो भने पनि केही छैन । १० गते १२ बजेसम्म हामीले प्रधानमन्त्री, राष्ट्रपति केही पनि खोजेका थिएनौँ । त्यो नजाउने ठाउँमा अरू नै हुनुहुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्