सभामुखको उम्मेदवार चयन गर्नुअघि देउवालाई प्रधानमन्त्रीको फोन

काठमाडौं, माघ ४ ।  नेपाली कांग्रेसले सभामुखको उम्मेदवार दिउँसो २ बजेपछि मात्र तय गर्ने भएको छ।

बुधबार बिहान पदाधिकारी बैठक बसिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर समझदारी कायम गरिने र त्यसबारे केही समय कुर्न अनुरोध गरेपछि कांग्रेस रोकिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

‘हामी सभामुखको उम्मेदवारबारे निर्णय २ बजेपछि मात्र गर्छाैँ,’ प्रवक्ता महतले  भने, ‘प्रधानमन्त्रीले सभापतिलाई फोन गरेर समझदारी कायम गर्ने प्रयास भइरहेको छ, एक डेढ घण्टापछि खबर गर्छु भन्नुभएको छ।’

बिहीबार सभामुख चयनको मतदान हुँदै छ। बुधबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दिने समय छ।

प्रधानमन्त्रीले समझदारीबारे कुनै निर्णय नगरे कांग्रेससहित गठबन्धनको बैठक बसेर उम्मेदवार बनाउने प्रवक्ता महतले बताए।

‘हामीसँग केही दलहरु भएकाले गठबन्धनमा छलफल गरेर सभामुखको उम्मेदवार बनाउँछौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्