रास्वपाले टुंग्यायो मन्त्रीको नाम

काठमाडौं, माघ ३ । काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्। रास्वपाले तीन मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको छ।

सभापति रवि लामिछाने यसअघि नै उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्। रास्वपालाई गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिने समझदारी बनेको छ। एक राज्यमन्त्री पनि रास्वपाले पाउनेछ।

कुन राज्यमन्त्री पाउने अहिलेसम्म निश्चित भइसकेको छैन। रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ। रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ। खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ। अर्याल रास्वपाका उपसभापति पनि हुन्।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्। दिउँसो १ बजे मन्त्रिपरिषद विस्तारको तयारी छ। दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्