प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन् सोङबीच पहिलो भेटवार्ता
काठमाडौं, माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
आज (सोमबार बिहान) बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए। उनीहरुबीच बीआरआई परियोजना कार्यान्वयन, नेपालको पूर्वाधार विकास, नेपाल–चीनबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताए । उनले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको समेत बताए ।
राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकासमा चीनको साथ रहने जानकारी गराए । राजदूत सोङले पोखरामा यति एयरलायन्सको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गरे । आइतबार भएको दुर्घटना भएको विमानमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।
सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् । नयाँ राजदूत सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन् । उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्।
बेइजिङले एसिया मामिला हेर्ने पाँच जना डेपुटी डाइरेक्टर जनरलमध्ये सोङलाई नेपालको राजदूतमा नियुक्ति गरेको हो ।
प्रतिक्रिया दिनुहोस्