बामपन्थी नेता भुसाल नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश
काठमाडौँ, २९ पुस । बामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकमा कम्युनिष्ट आन्दोलनको वैभवलाई सैद्वान्तिक रुपमा जीवन्त राख्न नेकपा ( एकीकृत समाजवादी ) ले मात्र सक्ने भएकाले आफू सो पार्टीमा समाहित भएको घोषणा गरे ।
देशको राजनीतिमा देखिएको खतराबिरुद्ध सङ्घर्ष गर्ने नेता भुसालले आफ्नो कम्युनिष्ट पार्टीको सदस्यता उक्त पार्टीबाट नविकरण गर्नेे जानकारी गराउनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम राख्न नसक्दा वैदेशिक हस्तक्षेप बढेकमा उनले चिन्ता व्यक्त गरे ।
विसं २०७४ को निर्वाचनपछि करिब दुई तिहाईको सरकार गठन भएको कम्युनिष्ट सरकारलाई देशको समृद्धि गर्ने ठूलो अवसर प्राप्त भएपनि अहंकारवादले सम्भव हुन नसकेको उनको भनाई थियो ।
नेता भुसालले ६० प्रतिशत जनसङ्ख्या भएको कृषि क्षेत्रमा लगानी बढाएर धेरै सुधार गर्न सकिने मौकाबाट कम्युनिष्ट सरकार चुकेको बताउँदै उनले भने –‘राजनीतिक अस्थिरताको अन्त्य हुन्थ्यो, बेरोजगार अन्त्य हुन्थ्यो । राष्ट्र पूँजीको विकास गर्न सक्थ्यौँ। ’ कम्युनिष्ट आन्दोलनबाट प्राप्त भएका उपलब्धीको रक्षा गर्न बामपन्थीको बलियो शक्ति निर्माणमा आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा (एमाले) को उपमहासचिवको जिम्मेवारी समेत निर्वाह गरेका नेता भुसाल पूँजीवाद र समाजवादको विश्लेषक, तथा कम्युनिष्ट पार्टीमा बौद्धिक छवि बनाएका विचारकका रुपमा स्थापित छन् ।
गत मंसिर ४ गते भएको निर्वाचनमा एमाले त्यागेर भुसालले रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।















प्रतिक्रिया दिनुहोस्