राष्ट्रिय सभा उपनिर्वाचन, आठ दलको निवेदन दर्ता

काठमाडौं, पुस २९ । आगामी ८ माघका लागि तोकिएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन आठ राजनीतिक दलले निवेदन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आयोगले उपनिर्वाचनका लागि २५ देखि २८ पुससम्मको समय निर्धारण गरेको थियो।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आठ वटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका हुन्। लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन आगामी २५ माघमा हुँदै छ।

आयोगका अनुसार बिहीबार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएका हुन्।

यसअघि नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दर्ता गराएका थिए। आयोगले उपनिर्वाचनका लागि ११ माघमा उम्मेदवारी दर्ता हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ।

रिक्त सदस्य पदको उपनिर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यलाई मताधिकार हुन्छ। लुम्बिनी प्रदेशको स्थानीय तह र प्रदेशसभामा प्रतिनिधित्व रहे पनि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले भने उपनिर्वाचनमा भाग लिन निवेदन दर्ता गराएनन्।

प्रतिक्रिया दिनुहोस्