सभामुख निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसकाे निर्णय
काठमाडौं, पुस २८ । नेपाली कांग्रेस पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
सभामुख र उपसभामुख निर्वाचनबारे संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको पार्टी सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
पाण्डेले बैठकपछि भने, ‘सभामुख र उपसभामुखमा उम्मेदवारीबारे दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं । सभामुख र उपसभामुख निर्वाचन सन्दर्भमा प्रदेशहरुको हकमा प्रदेश कार्य समितिले निर्णय गर्छ ।’
बैठकले अन्य दलहरुसँग छलफल र समन्वयन गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिएको छ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । आलोचनाकै बीच देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । सभामुखको निर्वाचन माघ ५ गते हुँदैछ ।















प्रतिक्रिया दिनुहोस्