सरकारले थप १५ लाख मात्रा खोप माग्दै गाभीलाई पठायो पत्र

काठमाडौं, पुस २८ ।  सरकारले छिमेकी देशमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गर्दै गाभीलाई पुनः पत्र पठाएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै पुनः ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)लाई औपचारिक रुपमा पत्र पठाएको हो।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले आज १५ लाख मात्रा खोपका लागि ‘गाभी’ लाईपत्र पठाइएको जानकारी दिए। यसअघि १४ पुसमा पनि शाखाले बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माग गरी पत्र पठाएको थियो।

उक्त पत्रानुसार गाभीले आगामी १९ माघमा १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराइसकेको छ। ‘बुस्टर डोजका लागि १५ लाख मात्रा खोपले मात्र नपुगेपछि थप १५ लाख मात्रा खोपका लागि आजै हामीले गाभीसँग माग राखी पत्र पठाएको छौं’, उनले भने, ‘गाभीले खोपबारे चाँडै नै जानकारी गराउनेछ।’

गाभीले कोभ्याक्स सुविधामार्फत नेपालले बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप ल्याउन थालेको हो। बुस्टर डोजका लागि मात्र ३० लाख मात्रा खोप आउनेछ।

छिमेकी भारत र चीनमा बीएफ सात नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ। मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्