१७ डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, पुस २८ ।  गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले आज (बिहीबार) को निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार डीआईजीहरु टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरीको सरुवा भएको छ ।

यस्तै भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

यस्तै, सातवटै प्रदेशमा प्रहरी प्रमुख परिवर्तन भएका छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डीआईजी वसन्तबहादुर कुँवरले मधेस प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

मधेश प्रहरी प्रमुख मसाउद आलम खाँलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी ल्याइएको छ। गण्डकी प्रदेशमा बुद्धिराज गुरुङको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत दीपक थापाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा काज सरुवा भएको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मा दिइएको छ। कर्णाली प्रदेशका पोषराज पोख्रेलको प्रहरी महानिरीक्षक सचिवालयमा काज सरुवा भएको छ।

डीआइजी भीमप्रसाद ढकाल कर्णाली प्रदेश पुगेका छन्। डीआइजी अशोक सिंहको सुदूरपश्चिम प्रदेशमा काज सरुवा भएको छ। यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग खटाइएको छ।

सन्दीप भण्डारीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा काज सरुवा गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख दुर्गा सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुर काज सरुवा गरिएको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

गृह मन्त्रालयामा रवि लामिछाने आएपछि प्रहरी उच्च अधिकारीको सरुवा भएको यो पहिलो निर्णय हो ।

1
2
प्रतिक्रिया दिनुहोस्