सातै प्रदेशले पाए मुख्यमन्त्री, अस्थिरताको जगमा उभिएको सरकार
काठमाडौं, पुस २८ । सात वटा प्रदेशले नयाँ नयाँ मुख्यमन्त्री पाएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, जनमत पार्टी, नाउपाको गठबन्धनमा भएको भागबण्डाअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एमाले नेतृत्वमा सरकार गठन भएको छ । वाग्मती र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा मधेस प्रदेशमा जसपाले सरकार बनाएको छ ।
प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । जहाँ माओवादीसँग आलोपालो मुख्यमन्त्री भनिएको छ । तर, औपचारिक रुपमा खुलाइएको छैन् ।
प्रदेश १ सरकारको मुख्यमन्त्रीमा केन्द्रमा गठबन्धन भएपछि एमाले र माओवादी केन्द्रले दाबी गरेका थिए । तर यहाँ एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने सहमति केन्द्रमा सहमति हुनुपहिल्यै भएको थियो । जसअनुसार नै पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश १ प्रदेश सभाको सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सहित कुल ६० सांसद सत्तापक्षमा छन् ।
मधेश प्रदेशमा जसपाका सरोज यादव मुख्यमन्त्री बनेका छन् । जहाँ साडे दुई वर्षपछि जनमत पार्टीलाई मुख्यमन्त्री बनाइनेछ । मधेस प्रदेशमा सभामुख एमाले र उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको छ । १ सय ७ सदस्यीय मधेसमा एमालेका २३, जसपाका १६, जनमतका १३ र माओवादीका ९ सहित सत्तापक्षमा ६१ सांसद पुग्छन् ।
वाग्मती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेलले गरेका छन् । उनले पनि आधा कार्यकाल एमालेलाई दिनेछन् । अरु प्रदेशमा मुख्यमन्त्रीले नियुक्ति लिइरहँदा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले भने विश्वासको मत लिने मिति तय गरिसकेका छन् । पुस २७ मा शपथ लिएका उनी माघ ३ मा प्रदेश सभाबाट विश्वासको मत लिनेछन् ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । अन्य प्रदेशको तुलनामा यो प्रदेशमा आलोपालो कम सुनिएको छ । तर, अन्य प्रदेशमा पाँचै वर्ष एकल नेतृत्व भनिएकोमा उलंघन भएको भन्दै माओवादीले यस प्रदेशमा पनि आलोपालो सरकारको विषय उठान गरिसकेका छन् ।
यहाँ पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्न चाहन्थे तर उनी प्रतिनिधिसभा सदस्य बने । संघीय सांसद बन्न चाहेका अधिकारी प्रदेशमा चुनाव लडे र मुख्यमन्त्रीको कुर्सीमा पुगेका हुन् । सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार गण्डकीमा सभामुख माओवादी र उपसभामुख एमालेबाट चुनिनेछन् । गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ । गण्डकीमा सत्तापक्षमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ गरी ३२ सांसद अधिकारीको पक्षमा छन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । मुख्यमन्त्री बनेका गिरी एमालेमा उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलनिकट मानिन्छन् । सहमति लुम्बिनी प्रदेशमा सभामुख माओवादी र उपसभामुख राप्रपाबाट बन्नेछन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादीका ९, राप्रपाका ४, जसपाका ३ र जनमतका ३ सहित गठबन्धनको पक्षमा ४८ सांसद छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीका राजकुमार शर्मा भएका छन् । यहाँ माओवादीले पाँच वर्ष एकल नेतृत्व गर्ने केन्द्रको निर्णय थियो तर त्यसलाई उल्ट्याउँदै एमालेबाट साढे दुई वर्षपछि मुख्यमन्त्री हुने प्रदेशस्तरीय सहमति गराएको छ ।
केन्द्रको सहमतिअनुसार पाँच वर्ष मुख्यमन्त्री हुने भनिएपनि प्रदेशस्तरमा साढे २ वर्षमा सरकारको नेतृत्व फेर्ने सहमति एमाले र माओवादीबीच भएको हो । कर्णालीमा सभामुख एमाले र उपसभामुख माओवादीबाट हुनेछन् । कर्णालीको ४० सदस्यीय प्रदेशसभामा माओवादीबाट १३, एमालेबाट १०, राप्रपाबाट १ गरी सत्तापक्षमा २४ प्रदेश सभा सदस्य छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशमा पनि आधा कार्यकाल माओवादी केन्द्रलाई नेतृत्व छोड्ने सहमति भएको छ ।
सुदूरपश्चिममा सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्ति पार्टीबाट चुन्ने सहमति भएको छ । जसअनुसार सुदूरपश्चिम प्रदेश सभा सभामुखमा माओवादी केन्द्रले भीम भण्डारीलाई मनोनयन गर्न लगाएको छ । यहाँ कांग्रेसले पनि सभामुखमा मनोनयन दर्ता गराएको छ ।
अर्थात, सात वटै सरकार बन्दा राजनीतिक दलहरुका बीचमा सर्तसहितका सहमति भएका छन् । सर्त उलंघन हुँदा सरकार तलमाथि हुन सक्ने त्रास त हुन्छ नै । यसका अलावा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । यसले फेरि पनि स्थिरताको जनचाहनालाई निराश बनाइदिएको छ ।















प्रतिक्रिया दिनुहोस्