कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो- ओली ,विश्वासको मत दिने निर्णयप्रति आशंका !

काठमाडौं, पुस २७ ।  एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्सासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयको स्वागत गर्दै धन्यवाद दिएका हुन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय इतिहासमा नयाँ भाष्य निर्माण गरेकाे र त्याे इतिहासमा छलफल हुने बताए ।

‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेर कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया दिएको छ,’ उनले भने, ‘कांग्रेसले प्रचण्डलाई दुई वर्षपछि त विश्वासको मत दिन्छु भनेकै थियो । अहिले दुई वर्षअघि दिँदा के नै बिग्रिन्छ र । म कांग्रेसलाई धन्यवाद दिन चाहन्छु ।’

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भन्ने कुरा नै नउठ्ने ओलीको भनाइ छ । साेही कारण प्रधानमन्त्रीले मागेकाे विश्वासकाे मतकाे प्रस्तावमा एमालेकाे समर्थन पनि रहने जनाए ।

अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिने निर्णयप्रति आशंका व्यक्त गरेका छन् ।

संसदमा बोल्दै ओलीले कांग्रेसले विश्वासको मत दिने निर्णय अन्य कारण छैन भने स्वागतयोग्य रहेको बताए ।

ओलीले विश्वासको मत दिने अन्य कारण छ भने पनि त्यो माछा नभएको खोलामा जाल हाने जस्तो हुने बताए ।

ओलीले विश्वासको मत दिने अन्य कारण नहोस् भन्ने आफुले चाहेको बताउदै विश्वासको मत दिने कांग्रेसको निर्णय स्वागतयोग्य रहेको बताए ।

ओलीले आजको बैठकमा पनि प्रजातान्त्रिक व्यवस्थामा संसद विघटन सामान्य भएको भन्दै आफुले यस अघि गरेका संसद विघटनको ‘डिफेन्ड’ गरेका छन् ।

साथै ओलीले कांग्रेसले संसदमा प्रजातन्त्रको नयाँ परिभाषा दिएको बताउदै यस विषयमा पछि बहस हुने बताए ।

प्रतिक्रिया दिनुहोस्