संसदमा ओलीले भने– ‘अब सबै मिलेर काम गरौँ, सरकार बनाउने र ढाल्ने खेलमा नलागौँ’
काठमाडौं, पुस २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न दल र नेताहरूलाई आग्रह गरेका छन् ।आज प्रतिनिधि सभामा सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । उनले भने , ‘देशका लागि सँगै काम गरौँ, लेट्स वर्क टुगेदर ।’
उनले देश निर्माणको बाटोमा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले यो सरकारले लोकतन्त्रको रक्षा, संवर्द्धन र सुदृढीकरणका लागि काम गर्ने बताए ।
ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अवसरसँगै धेरै चुनौती पनि रहेको बताएका छन् ।
अहिले देशको अर्थतन्त्र धेरै नै समस्यामा रहेको भन्दै सुझबुझपूर्ण ढङ्गले काम गर्नुपर्नेमा उनले जोड दिए । अर्थतन्त्र धेरै गम्भीर अवस्थामा रहेको, राजस्वको सङ्कलन धेरै वर्षपछि ऋणात्मक अवस्थामा रहेको, महँगी बढेको, आयात डरलाग्दो र निर्यात टिठलाग्दो अवस्थामा रहेको लगायतका समस्या समाधान गर्नुपर्ने दायित्व रहेको ओलीको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि मङ्गलवार विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको भन्दै ओलीले सरकार र प्रचण्डलाई बधाई दिए। ओलीले अहिले सहज परिस्थिति नभएकाले प्रचण्ड नेतृत्वको सरकारले निकै धेरै मेहनत गर्नुपर्ने बताए।
देशले नयाँ परिवर्तन खोजेको सङ्केत चुनावअघि नै देखिएको भन्दै ओलीले नयाँ दल र सांसदले पनि सांसद बन्नकै लागि नभएर नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया दिनुहोस्