सादा पोसाकधारी प्रहरीको विवरण बटुल्दै गृह प्रशासन
काठमाडौं, पुस २४ । मुलुकभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण खोजीमा गृह मन्त्रालय जुटेको छ। नेपाल प्रहरीले सूचना संकलन र अपराध अनुसन्धानका लागि बर्दीबिनाका प्रहरी परिचालन गर्दै आएको छ।
सिभिलमा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँ बस्ने गरेका छन्। युनिट इन्चार्जले सादा पोसाकमा खटिएका प्रहरीलाई दुरुपयोग गरिरहेको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विवरण संकलन गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना संकलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ। सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि प्रहरी कर्मचारी खटिने गरेका छन्।
इन्टेलिजेन्स ब्युरोअन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागि सादा पोसाकका कर्मचारीलाई परिचालन गर्दै आएको सशस्त्र प्रहरी बलका प्रवक्ता पुरुषोत्तम थापाको भनाइ छ।
सुरक्षा संगठनले परिचालन गरेका सादा पोसाकमा खटिने सुरक्षाकर्मीलाई व्यवस्थित गर्न विवरण मागिएको गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलले बताए।
नेपाल प्रहरीमा जिल्ला र युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्दै आएका छन्। जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’ले काम गर्ने गरेको आरोप छ।
प्रतिक्रिया दिनुहोस्