सत्ता भागबण्डा : सबै पदमा आलोपालो
काठमाडौं , पुस २५ । सात दलीय सत्ता साझेदार दलहरुले प्रदेश सरकारको नेतृत्वको भागवण्डा मिलाएका छन् ।
नेताहरुका अनुसार आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, माओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति जुटेको छ ।
शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनेछ । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन् ।
माओवादी केन्द्रले वाग्मती र कर्णाली प्रदेशको नेतृत्व लिनेछ । वाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा–आधा कार्यकाल नेतृत्व गर्ने छन् । सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले मुख्यमन्त्री लिनेछ ।
बाग्मतीमा माओवादी केन्द्र शालिकराम जम्कट्टेल, गण्डकीमा एमालेका खगराज अधिकारी, लुम्बिनीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादी राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रबहादुर रावल संसदीय दलका नेता छन् ।
वाग्मती प्रदेशमा एमालेका जगन्नाथ थपलिया, कर्णालीमा एमाले यमलाल कँडेल र सुदूरपश्चिममा माओवादी केन्द्रका खगराज भट्ट संसदीय दलका नेता छन् । त्यसैगरी मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो नेतृत्व गर्नेछन् ।
सत्ता साझेदार दलहरुले प्रदेशका सभामुख, उपसभामुखको भागबन्डा पनि मिलाएका छन् । माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने छ भने एमाले २ र राप्रपाले १ सभामुख लिनेछ । प्रदेश १ मा माओवादी केन्द्रको सभामुख र एमालेको उपसभामुख हुने छ ।
वाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्ने छ । त्यसैगरी गण्डकी प्रदेशसभा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेले प्राप्त गर्ने छ । लुम्बिनीमा सभामुख माओवादी केन्द्र र उपसमाभुख राप्रपाले प्राप्त गर्ने छ ।
कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रको भागमा उपसभामुख परेको छ । सुदूरपश्चिममा माओवादी केन्द्रले सभामुख प्राप्त गर्ने छ । नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा प्रस्ताव गरिएको बालुवाटार स्रोतले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दाबी गर्दै आएको छ ।
सहमति अनुसार स्थिरता दिने भनेको सात दलीय सत्ता गठबन्धन कायम रहँदा समेत राष्ट्रपति र उपराष्ट्रपतिबाहेक प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख अधिकांशमा पदहरुमा पाँच बर्षमा नेतृत्व फेरबदल हुनेछन् ।
यसैबीच, सत्ता साझेदार दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई विश्वासको मत दिन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको हो ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आगामी मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।















प्रतिक्रिया दिनुहोस्