बायर्न म्युनिखको शानदार जित

एजेन्सी । जर्मन बुन्डेस लिगामा गए राति साविक विजेता बायर्न म्युनिखले फ्राइबर्गलाई ५–० ले हराएको छ । यस जित संगै बायर्न ८ खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
प्रशिक्षक जप हेन्केसको पहिलो खेलमा बायर्नले फ्राइबर्गमाथि शानदार जित दर्ता गर्यो । खेलको आठौं मिनेटमै फ्राइबर्गका डिफेन्डर जुलियन स्कुस्टरको आत्मघाती गोलमार्फत बायर्नले खेलमा अग्रता लियो । त्यस्तै मिडफिल्डर किङ्सली कोम्यानको ४२ औं मिनेटको हेडरमार्फत बायर्नले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफको ६३ औं मिनेटमा २५ यार्डबाट थियागो अलाकान्टाराको प्रहारले सिधै जाली चुमेको थियो । त्यस्तै थोमस मुलरको पासमा रोबर्ट लेवान्डस्किले बक्स भित्रबाट गरेको प्रहारमार्फत बायर्नले चार गोलको अग्रता लिएको थियो । सो गोल लेवान्डस्किको सिजनको नवौँ गोल थियो ।

खेलको इन्जुरी समयमा डिफेन्डर जोसुवा किमिचले कोम्यानको पासमा ब्याक–हिल गर्दै स्कोर ५–० बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्