पानी ठानेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा छात्राको गयो ज्यान
काठमाडौं, पुस २४ । शिक्षिका पानी ठानेर दिएको स्प्रिट पिउँदा सिरहामा एक छात्राको ज्यान गएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जना कुमारी महराको मृत्यु भएको हो ।
पुस २२ गते पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी ठानेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका–११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले बताएको छ ।
सिर्जनालाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको ज्यान गएको हो । शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।
उनीहरुले बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट कार्यालयमा क्षति पुग्नुको साथै पाँच जना प्रहरी घाइते भएको मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्