कार्यभार सम्हाल्न नेपाल आइपुगे चिनियाँ राजदूत छन् सोङ
काठमाडौं, पुस २४ । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत छन् सोङ कार्यभार सम्हाल्न नेपाल आइपुगेका छन् ।
उनी केहीबेर अघि काठमाडौं आइपुगेका हुन् । सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गरेका छन् ।
चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो । उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन् ।
नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन् । उनी नेपाल मामिलाका जानकार समेत मानिन्छन् । त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँच जना डेपुटी डाइरेक्टर जनरलमध्ये छन्लाई नेपालको राजदूतमा नियुक्ति गरेको थियो ।
स्वास्थ्यमा समस्या आएपछि राजदूत सोङ निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आएका हुन् । यसअघि उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल आएपछि नयाँ चिनियाँ राजदूत केही दिन क्वारेन्टीनमा बस्ने छन् ।
प्रतिक्रिया दिनुहोस्