अन्ततः प्रचण्डसँग मिल्ने भए भट्टराई, पार्टी एकताको तयारी 

काठमाडौं , पुस २४ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र बाबुराम ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् ।

शनिबार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष बाबुरामबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको हाे ।

यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ ।

पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । नेसपाले आज राजनीतिक समितिको बैठक बोलाएको छ ।

यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउनेछ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘दुवै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर टुंगो लगाउँछ ।’

तत्कालीन संविधानसभाले संविधान जारी गरेपछि भट्टराईले २०७२ साल ९ असोजमा माओवादी परित्याग घोषणा गरेका थिए । त्यसको केही समयपछि उनले नयाँ शक्ति पार्टी बनाएका थिए । पछि यो पार्टीलाई उनले जनता समाजवादी पार्टीसँग विलय गराएका थिए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग विभिन्न असमझदारी पछि उनले नेपाल समाजवादी पार्टी बनाएका थिए ।

४ मंसिरमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भट्टराईको यो पार्टीले नेकपा माओवादी पार्टीकै चुनाव चिन्हमा निर्वाचन लडेको थियो । त्यति बेला नै भएको सहमतिअनुसार अब यी दुई पार्टीको एकता गर्न लागिएको हो । यसका लागि शनिबार यी दुई नेताले भेटघाटसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्