मर्जर: शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैंकको बैंकिङ्ग सेवा बन्द हुने
काठमाडौं, २२ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जरको प्रक्रियामा हुँदा आगामी शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द हुने भएको छ ।
बैकको मर्जरपश्चात एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि आगामी शनिबार र आइतबार दुई दिन ग्लोबल आइएमई बैक लिमिटेडको सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द हुने भएको हो । तर सो अबधिमा बैंकको मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिटयान्स् सेवा भने यथावत संचालनमा रहनेछन् ।प्रश्चात आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुने छ ।
यसअघि दुवै बैंकका साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो भने नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृती प्राप्त भइसकेको छ ।
मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रूपैयाँ, चुक्ता पूँजी ३५।७७ अर्ब रूपैयाँ, कुल निक्षेप ४०८ अर्ब रूपैयाँ , कुल कर्जा ३७६ अर्ब रूपैयाँभन्दा बढी पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंकको कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बैंकमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्