राहदानीको समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउँदै

काठमाडौँ , पुस २२ । विद्युतीय राहदानीको सर्बरमा देखिएको समस्या हल गर्न फ्रान्सबाट आइडिमीयाको प्राविधिक टोली नेपाल आउने भएको छ । राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवका अनुसार फ्रान्सबाट आडिमीयाको एक प्राविधिक टोली सोमबार काठमाडौं आइपुग्ने छ ।

नेपालले विद्युतीय राहदानीको सुरुआत गरेपछि पहिलो पटक ‘स्टोरेज’ मा समस्या भएको हो । नेपाल सरकारले २०७८ को मंसिर १५ देखि विद्युतीय राहदानी जारी गर्न सुरु गरेको थियो । जसको सम्पूर्ण जिम्मेवारी फ्रान्सेली कम्पनी आइडिमीयाले पाएको हो ।

यता विभागले उक्त समस्या समाधान गर्न प्राविधिक टोली प्रयासरत रहेको दाबी गरेको छ । साथै, नेपालमै भएका आइडिमीयाका प्राविधिकहरुबाट समस्या समाधान नभएपछि शुक्रबार सिंगापुर र बेंग्लोरमा रहेका आइडिमीयाका प्राविधिक नेपाल आएका छन् भने फ्रान्सबाट सोमबार आउने तय भएको छ ।

विभागका अनुसार पहिलेको तुलनामा अहिले ६० प्रतिशत मात्र काम भएको छ ।यस कारण काम गर्न ढिलाइ तथा सेवाग्राहीले सास्ती पाएका छन् ।

आइतबारदेखि लगातार रुपमा सर्बरले नियमितभन्दा ढिलो काम गर्न थालेपछि विद्युतीय राहदानी लिन थप समय लाग्ने भएको हो । विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाइ तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।

‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रुपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनु हुन अनुरोध गरिएको छ ।

‘साथै, नियमित रुपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गर्नुभएका सेवाग्राहीहरु बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित भइदिन हुन समेत अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्