कम्बोडियामा ज्यान गुमाएका निराकारका बुवालाई भेटे प्रधानमन्त्रीले

काठमाडौं, पुस २१ । गत बिहीबार मध्यराति कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको भीषण आगलागीमा परेर ज्यान गुमाएका झापाका निराकार पाण्डेका परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार पाण्डेका बुवा अग्नि पाण्डेसँग प्रधानमन्त्री प्रचण्डले भेट गरेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो र जिम्मेवारीवोधप्रति धन्यवाद दिएका छन।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको उनका प्रेस संयोजक सूर्यकिरणले बताए।

प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन्। उनले धैर्यधारणका लागि निराकारका बुवालाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्