कांग्रेसले भन्यो- सत्ता गठबन्धनको आयु छोटिने सम्भावना छ

काठमाडौं, पुस २० । नेपाली कांग्रेसले सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा ठूलो विरोधाषमा रहेको बताए ।

महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाएका छन् । गठबन्धनभित्र पदहरू मात्रै भएको तर भागवण्डा नमिलेको उनको भनाइ छ । साथै यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन भएको उनको आरोप थियो ।

‘अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ । त्यहाँ पदमात्र छ । पदको भागवण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो । गठबन्धनको आयु छोटिने सम्भवाना देखेका छौं,’ नेता महतले भनेका छन् ।

यस्तै उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने पनि बताए । नेता महतले निर्वाचनअघिको कांग्रेस(माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए ।

सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए । उनले यसबारे विश्लेषण भइरहेको पनि बताए । साथै यसको परिणाम तथा असरबारे मूल्यांकन भइरहेको बताए ।

यद्यपि नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट विचलित नभएको महतले बताएका छन् । साथै आफूहरूले वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास नगरेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्