नेपाल टी–ट्वान्टी: लुम्बिनीले फेरि हरायो काठमाडौंलाई

काठमाडौं, पुस २० ।  काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई फेरि हराएको छ ।

बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो । यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले हराएको थियो ।

बुधबारको १७ ओभरमा छोट्याईएको थियो ।जितको लागि १८४ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं नाइट्स १५.४ ओभरमा अलआउट भएर ८१ रन मात्र बनायो ।

काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ तथा किशोर महतो, विपुल शर्मा र हरमीत सिंहले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो ।

लुम्बिनीका लागि हरमित सिंहले ७०, लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले अविजित १६ तथा कुशल भुर्तेलले १५ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३, बसिर अहमदले २ तथा अनिल खरेलले एक विकेट लिए ।

लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस जितसँगै लुम्बिनीले शीर्ष २ मा रहँदै क्यालिफायर्समा प्रवेश गरेको छ । काठमाडौंको ८ खेलमा समान ४ जित र ४ हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्