५ दिनमा ल्याउने भनिएको ‘न्यूनतम साझा कार्यक्रम’ अझै तयार भएन, आफ्नै निर्णयमा चुक्यो सरकार
काठमाडौं, पुस २० । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले गत पुस १४ गते ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने उद्घोष गरे ।
सोही दिन बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा माओवादी उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल शमशेर राणा सहित जसपा, जनमत पार्टीका एक–एक जना थप्ने गरी कार्यदल बनेको थियो । अहिलेसम्म जसपा र जनमत पार्टीबाट कार्यदलमा कसलाई राख्ने भन्ने विषयमा निर्णय भइसकेको छैन भने ५ दिन बित्दा पनि साझा कार्यक्रम सार्वजनिक हुने छाँटकाँट देखिँदैन ।
सत्ता साझेदार सबै दलको विचार र दृष्टिकोणलाई समेट्ने गरी कार्यक्रम बनाउने तयारी भइरहेको राप्रपाका नेता तथा मस्यौदा निर्माण कार्यदल सदस्य धवलशमशेर राणा बताउँछन् । उनका अनुसार मस्यौदा लेखन सकिएपछि अर्को बैठक बसेर त्यसलाई अन्तिम रूप दिने तयारी छ ।
पहिलो चरणको बैठकमा सबै सत्ता साझेदार दलहरूबाट आ–आफ्ना सुझाव प्रस्तुत गरिएको उनको भनाई छ । ‘मस्यौदा निर्माणको काम सकिएपछि कार्यदल संयोजकको आह्वानमा अर्को बैठक बस्नेछ,’ उनले भने, ‘त्यसपछि छलफल गरेर अन्तिम रूप दिन्छौँ ।’
रास्वपाका प्रवक्ता ढकालले आ–आफ्नो पार्टीबाट साझा न्यूनतम कार्यक्रममा समेट्ने विषयमा ड्राफ्ट तयार गरेर ल्याउने भनिएपछि दोहोर्याएर बैठक बस्न नसकेको स्वीकार गरे । आज बैठक बसेर साझा न्यूनतम कार्यक्रम ल्याएर घोषणा गरिने ढकालको दाबी छ ।
गृहमन्त्री लामिछानेले घोषणा गरेको ५ दिन हिजै सकिएको छ । लामिछानेले भने अनुसार मंगलबार साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्ने भए पनि त्यस बमोजिम तयारी हुन सकेको छैन । कार्यदलका सदस्यहरूले समेत निर्धारित समय सकिन लाग्दा पनि आफ्नो तर्फबाट तयारी पूरा गरेका छैनन् ।















प्रतिक्रिया दिनुहोस्