देशैभर राहदानी वितरण ठप्प, १० हजार आवेदन ‘पेन्डिङ’

काठमाडौं, पुस २० । देशैभर राहदानी वितरण ठप्प भएको छ । सर्भरमा समस्या आएको भन्दै १७ पुसदेखि राहदानी विभागले छपाइ र वितरण ठप्प पारेको हो ।

फाराम भर्न मिले पनि सर्भर सिस्टम बिग्रिँदा सेवाग्राहीले विवरण प्रमाणीकरण र छपाइसम्बन्धी सेवा पाइरहेका छैनन् । यही कारण देशभरका जिल्ला प्रशासन कार्यालय र विभागको ‘वेबसाइट’मा दर्ता भएका १० हजारभन्दा बढी आवेदन फाराम पेन्डिङमा रहेका छन् ।

आवेदन भरे पनि अन्य काम गर्न सर्भर बिग्रिएकाले सेवा ठप्प भइरहेको विभागकी प्रवक्ता दुरपदा सापकोटाले बताइन् । विभागको सर्भर आइडी मिया नेटवर्क कम्पनीले मर्मत गर्दै आइरहेको छ । समस्या आएपछि कम्पनीले मर्मत थालेको उनले बताइन् । तर, समस्या पत्ता नलाग्दा सेवा नै रोक्नुपरेको प्रवक्ता सापकोटाको भनाइ छ ।

१३ पुसमा विभागको अनुगमनमा पुगेका गृहमन्त्री रवि लामिछानेले कर्मचारीलाई राहदानी वितरण सहज बनाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्