भोलिदेखि अवकाशमा जान लागेका नेपाली सेनाका उपरथी शाही सैनिक प्रहरीको हिरासतमा

काठमाडौं, पुस १९ ।  नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले हिरासतमा राखेको छ । उनीमाथि विगतमा गरेको भन्दै आरोप लगाइएका आर्थिक अनियमितताका आरोपबारे छिटो छानबिनको लागि उनलाई सैनिक मुख्यालय जंगी अड्डामा राखिएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

उनी भोलिदेखि अवकाशमा जाँदै थिए । तर उनका विभिन्न प्रमाण पत्रमा फरक जन्ममिति भएकोले उनले २०२३ सालको जन्ममिति कायम गर्न सर्वोच्च अदालतमा रिट हालेका थिए । उनले माग गरेअनुसार जन्ममिति कायम भएमा उनको अझै १ वर्ष सेवा अवधि बाँकी हुन्थ्यो ।

सैनिक मुख्यालयले भने उनको २०२२ को जन्ममिति कायम गरेर उनलाई अवकाश दिइसकेको थियो । भोलिदेखि अवकाश लागू हुने भए पनि उनी मुख्यालयको आदेशअनुसार १५ दिन अघिदेखि नै विदामा बसिसकेका थिए । अवकाशको केही दिन अघिदेखि यसरी विदामा बस्नु भनेको अवकाश लिनुजस्तै मानिन्छ र सेनामा यो प्रचलन छ ।

मुख्यालयले अवकाश दिइसकेका शाही अदालतको आदेश अनुसार हाजिर गर्न मंगलबार सैनिक मुख्यालय भद्रकाली पुगेका थिए । उनलाई नियन्त्रणमा लिई हिरासतमा राखिएको हो । शाहीलाई सैनिक मुख्यालयले अवकाश दिएर घर बिदामा पठाएपछि उनी सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरुद्ध सर्वोच्च पुगेका थिए ।

शाहीले आफ्नो सेवा अवधि अझै एक वर्ष बाँकी रहेको भन्दै ७ पुसमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्चले शाहीलाई तत्काल अवकाशमा जान नहुने भन्दै अन्तरिम आदेश जारी गरेको थियो । उपरथीको उमेर हद ५८ वर्ष तोकिएको छ । सैनिक मुख्यालयमा पेस गरेको कागजातका आधारमा उनी २० पुसमा अवकाशमा जाँदै थिए ।

उपरथी शाही नागरिकता र चारित्रिक प्रमाणपत्रमा उमेर फरक परेको भन्दै नागरिकताको आधारमा अझै सेवा अवधि एक वर्ष बाँकी रहेको दाबीसहित सर्वोच्च पुगेका थिए । उपरथी शाहीको चारित्रिक प्रमाणपत्रमा जन्म मिति २०२२ साल २० पुस छ भने नागरिकता र अन्य प्रमाणपत्रमा २०२३ पुस २२ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्