प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिने
काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।
नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन्।
प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाई दिन अनुरोध गरेका छन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।
‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय सम्वत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु’, उनले संसद सचिवालयलाई पत्र लेख्दै भनेका छन्। प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दैछ ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
सरकार गठनका क्रममा नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले समर्थन गरेपछि प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।
राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ भने जसपाले सरकारलाई समर्थन गरे पनि सहभागिताको विषयमा भने केही निर्णय गरेको छैन ।
यता नेकपा एकीकृत समाजवादीले अहिलेका सरकारमा जान नसकिने बताएको छ । प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
जसमा अर्थमन्त्रीमा विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीमा रवि लामिछाने छन् । यस्तै, ज्वालाकुमारी शाह,दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानलाई विनाविभागीय मन्त्री तोकिएका छन् ।
















प्रतिक्रिया दिनुहोस्