नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनीको लगातार पाँचौँ जित

काठमाडौं, पुस १५ ।  नेपाल टीट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले लगातार पाँचौ जित हात पारेको छ।कीर्तिपुर क्रिकेट मैदानमा जारी यो प्रतियोगितामा आज लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौँ जित हात पारेको हो।

यस अघि लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनायो। जवाफमा काठमाडौं नाईट्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनायो। र खेल ३५ रनबाट हार्न पुग्यो। लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए।ओपनर लाहिरु मिलान्थो २५ तथा सुनिल धमला ३ रनमा आउट भए।

त्यसैगरी कुशल भुर्तेलले १९ हरम्रीत सिंहले १२, अनिल शाहले १३ र गुलशन झाले २ रन बनाए। त्यसैगरी लुम्बिनीका साड्ली भान स्लेक्किक १५ बलमा १ चौका र १ छक्कासहित २१ रनमा अविजित रहे।काठमाडौँका आजमतुल्लाह ओमरजाईले २ विकेट लिए।त्यसैगरी अभिनाश बोहरा, अनिल खरेल, बसिर अहमद, सुनाम गौतम र एलेक्स ब्लेकले एक एक विकेट हात पारे।

दोस्रो पालोमा ब्याटिङमा उत्रेको काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले सबै भन्दा बढी ३८ रनको योगदान दिए। त्यसैगरी सुनाम गौतमले १८ रन तथा एलेक्स ब्लेकले ११ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल तथा विरनदिप सिंह सुन्य रनमा आउट भए। कमलसिंह ऐरीले अविजित १९ रन बनाए।लुम्बिनीका लागि हरमित सिंहले ३ तथा किशोर महतो,श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक एक विकेट लिए।

यो प्रतियोगितामा अपराजित लुम्बिनी ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहेको छ। चार खेलमा दुई जित हात पारेको काठमाडौं ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। नेपाल टीट्वान्टी क्रिकेट लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टोली रहेका छन्।प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ। यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ।यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्।इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ।

प्रतिक्रिया दिनुहोस्