भारतमा कोरोना रोक्न विशेष पहल, चीनसहित ६ देशबाट आउदा पिसिआर अनिवार्य
काठमाडौं, पुस १४ । भारत सरकारले कोभिड महामारीको नयाँ लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ठूलो निर्णय गरेको छ ।
भारतले जनवरी १ देखि चीनलगायत ६ देशबाट आउने यात्रुलाई आरटी–पिसिआर परीक्षण अनिवार्य गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले बिहीबार यस निर्णयको जानकारी दिदै जनवरी १ बाट चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट भारत आउने यात्रुले कोभिड परीक्षण रिपोर्ट नेगेटिभ दिनु आवश्यक हुने बताए ।
यी स्थानहरूबाट आउने यात्रुहरूले उडानमा चढ्नु अघि एयर सुविधा पोर्टलमा आरटी-पीसीआर परीक्षणको नेगेटिभ कोभिड रिपोर्ट अनिवार्य अपलोड गर्नुपर्नेछ । उनले यात्राको ७२ घण्टाभित्र कोभिड परीक्षण गरिसक्नुपर्ने बताए । स्वास्थ्यमन्त्रीले अहिले भारतबाट आउने सबै अन्तर्राष्ट्रिय यात्रुको विमानस्थलमा अनियमित परीक्षण अनिवार्य गरिएको भए पनि यात्रुले उडान भर्नुअघि आरटी–पिसिआर रिपोर्ट बुझाउनुपर्ने बताए ।
चीनसहितका यी देशमा कोरोना भाइरसको संक्रमण बढेपछि भारत सरकारले अलर्ट जारी गरेको छ र कोभिड दिशानिर्देशलाई कडा बनाएको छ । यसका साथै राज्य र केन्द्र शासित प्रदेशहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन भनिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा २४ घण्टामा कोरोना संक्रमणका २६८ नयाँ मामिला दर्ता भएसँगै सक्रिय केसको संख्या ३ हजार ५५२ पुगेको छ ।
स्वास्थ्य विज्ञहरूले आगामी ४० दिन भारतका लागि महत्त्वपूर्ण हुने चेतावनी दिएका छन् । जनवरीमा कोरोनाका केसहरूमा बृद्धि हुन सक्ने चेतावनी दिदै नयाँ लहर आए पनि मृत्युदर र अस्पतालमा भर्ना हुने दर निकै कम हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्