न्यूनतम साझा कार्यक्रम बनाउन सत्ता साझेदार दलले बनाए संयन्त्र, संयोजकमा ओली
काठमाडौँ , पुस १४ । सत्ता साझेदार दलहरुले न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई न्युनतम साझा कार्यक्रम तयार गर्न संयोजक बनाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।
ओली संयोजक रहेको कार्यदलले पाँच दिन भित्र सरकारको न्युनतम साझा कार्यक्रम तयार गर्ने उनले बताए ।
यस कार्यदलमा सबै सत्ता साझेदार दलले एक एक जना प्रतिनिधि पठाउने सहमति भएको छ । बैठकमा मूलभूत रुपमा न्यूनतम् साझा कार्यक्रम कसरी अघि बढाउने भनेर कुरा भएको पनि लामिछानेले बताए।लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा आउने बताए।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सामेल रहेका थिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटबारे पनि छलफल भएको थियो भने प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाएको थियो।
प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषदमा एमालेले १० र माओवादीले ७ मन्त्रालयमा दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाको ३–३ तथा जनमत पार्टीको २ मन्त्रालयमा दाबी छ।
सरकारमा सहभागी हुँदा राप्रपाले ३ र नागरिक उन्मुक्तिले २ मन्त्रालयमा दाबी गर्नेछन्। तीन स्वतन्त्र सांसदले पनि एक–एक मन्त्रालय लिने बताएका छन्।















प्रतिक्रिया दिनुहोस्