माधव नेपाललाई मनाउन कोटेश्वर पुगे महेश बस्नेत, एमालेमै फर्किन आग्रह
काठमाडौँ , पुस १३ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनमा सहभागी गराउने विषयमा छलफल गर्न नेकपा एमाले नेता महेश बस्नेत कोटेश्वर पुगेका छन् ।
नेपाललाई मनाउन एमाले नेता बस्नेत नेपाल निवास कोटेश्वर पुगेका हुन् । बस्नेतले एमालेमै फर्कन पार्टी अध्यक्ष नेपालसँग आग्रह गरेका छन् ।
प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनमा मुुख्य भूमिका खेलेका एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनलाई थप बलियो बनाउने पक्षमा छन् । एमाले नेता महेश बस्नेतले पार्टी एकीकृत, सरकारमा सहभागिता, बाम तालमेललगायतका विषयमा कुराकानी भएको बताएका छन् ।
नेता बस्नेतले भने, ‘समसामयिक विषयमा कुराकानी भएको छ । पार्टी एकीकरण, सरकारमा उहाँ (नेपालजी) हरुको सहभागी, बामपन्थी एकीकरणलगायत विषयमा छलफल भयो । छलफल सकारात्मक भएको छ ।’ समाजवादीमा १० सांसद छन् ।
यता आजै (बुधबार) बिहान ललितपुरको एक अपार्टमेन्टमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालबीच भेटवार्ता भएको थियो ।
प्रचण्डले ओली र नेपाललाई मिलाउन मध्यस्थता गरिरहेका छन् । मंगलबार पनि एमाले उपाध्यक्ष विष्णु पौडेल र नेपालबीच सत्ता समीकरण र पार्टी एकीकरणको विषयमा छलफल भएको स्रोतले बताएको छ । यसअघि आफूलाई थाहै नदिइ प्रचण्ड ओलीसँग मिलेको भन्दै नेपालले गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्