गृहमन्त्री रवि लामिछानेद्वारा पदभार ग्रहण, निर्मला हत्या प्रकरण छानविनमा लाग्छुः गृह मन्त्री लामिछाने
काठमाडौं, ११ पुष । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उपप्रधान एवम् गृहमन्त्रीको पदभार ग्रहणलगत्तै उनले यस्तो निर्णय गरेका हुन् ।
उपप्रधानमन्त्री लामिछानेले सचिव विनोदप्रकाश सिंहलाई निर्मलाको लागि न्यायको लागि पहल गर्ने भन्दै सोहीअनुसार फाईल अघि बढाउन निर्देशन दिएका हुन् । लामिछाने आजै उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएका हुन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताए ।
‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ’ उनले भने ।
उनले यो कुरामा सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको दावी गरे । ‘सबै दलका शीर्ष नेतासँग कन्फर्म गरेर मात्र आएको हो, सरकारको काममा हो मा हो, हामीले गरेको कुरामा हो मा हो गर्ने होइन, क्याबिनेट मिनिस्टरले जे निर्णय गरे त्यसमा हो मो हो भन्न हामी सहभागी भएका होइनौं’ लामिछानेले भने ।
प्रतिक्रिया दिनुहोस्