सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता

काठमाडौं, पुस ८ । पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ।

पोखरा–५ पस्र्याङस्थित टेनिस कोर्टबाट २०५९ सालदेखि शुरु भएको भेट्रान्स प्रतियोगिता पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा आईपुग्दा १९ औं वर्ष पुगेको छ। दुई वर्ष संघले टेनिस प्रतियोगिता आयोजना गरेन। एक वर्ष कोभिडले स्थगित गरियो भने अर्को वर्ष पोखरा रंगशालामा टेनिस कोर्ट निर्माण हुदैं गर्दा स्थगित गरिएको थियो।

सोमबारदेखि शुरु हुने प्रतियोगितामा १५० जना खेलाडीहरुले सहभागिता जनाउने छन्। नेपालका शीर्ष बरियता खेलाडीहरुसहित भारतबाट ५ जना प्रतियोगिता खेल्नै पोखरा आईपुगेको प्रतियोगिता निर्देशक राजन पौडेलले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा भुटान, बेलायतमा बस्ने नेपाली समुदायबाट समेत खेलाडीको सहभागिता रहने छ। नेपालमा बस्ने फ्रान्सेली नागरिकले पनि प्रतियोगितामा उपस्थिति जनाउने छन्।

संघले केही हप्ता अघि मात्रै पोखरामा अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ)को जे–५ पोखरा सर्किट १ र २ प्रतियोगिता सम्पन्न गरेको थियो। संघले टेनिसको विकासको लागि आगामी महिना जुनियर च्याम्पियनसिप समेत आयोजना गर्ने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए।

प्रतियोगितामा पुरुष एकल तथा महिला एकल तर्फका विजेताले नगद ८० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यसैगरी उपविजेताले समान ४०–४० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक चालिसेले सुनाए। एकल तर्फ दुई सेमिफाईनलिष्ट महिला तथा पुरुषले १०–१० हजार प्राप्त गर्ने छन् । पुरुष युगल र महिला युगल विजेताले ३०–३० हजार पाउँदा उपविजेताले १५–१५ हजारको पुरस्कार राशी पाउने छन्। सेमिफानलिष्टको हकमा पनि १०–१० हजार रुपैयाँ प्रदान गरिने छ।

पुरुष एकलसँगै ३५, ४५, ५५ र ६५ वर्ष माथिको उमेर समूहमा समेत प्रतिस्पर्धा गराईने संघले जनाएको छ। ६ वटा कोर्टमा प्रतियोगिता खेलाईने छ।

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले ६० हजार उपविजेताले ३० हजार र सेमिफाईनलिष्ट खेलाडीद्वयले १०÷१० हजार राशीको पुरस्कार पाउने छन् युगल तर्फको इभेण्टमा विजेताले २० हजार र उपविजेताले १० हजार पाउँदा अन्तिम चारमा प्रवेश गर्ने अन्य दुई खेलाडीको हकमा पनि नगद १० हजार रुपैयाँ प्रदान गरिने संघले उल्लेख गरेको छ।

४५ वर्षमाथिको उमेर समूहका विजेताले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले नगद २० हजार र सेमिफाइनल खेल्ने खेलाडीले १० हजारसहित पदक तथा प्रमाणपत्र पाउने छन्।

युगल तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार तथा सेमिफाईनलिष्टले १० हजार थाप्ने छन्। ५५ वर्षको उमेर समूहको एकलले ३० हजार उपविजेताले १५ हजार र सेमिफाईनल खेल्ने खेलाडीले १० हजार पुरस्कार पाउँदा युगल प्रतिस्पर्धाको विजेताले २०, उपविजेताले १० र सेमफिाईनलिष्टले पनि १० हजार पाउने छन्।

६५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पाउदाँ सेमिफाईनलिष्टले २ हजार ५ सय रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितालाई माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्