प्रकाशमानले भेटे प्रचण्ड, देउवा नेतृत्वमा सरकार बनाउन सघाउन आग्रह

काठमाडौं, पुस ८ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न आज (शुक्रबार) विहान खुमलटार पुगेका उनले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका छन् ।

जवाफमा प्रचण्डले नयाँ सरकारको नेतृत्व पाउनु पर्ने अडान राखेका छन् । सिंहका प्रेस संयोजक युपी लामिछानेले माओवादी अध्यक्ष प्रचण्डसँग भेट भएको पुष्टि गरे । ‘आज बिहान खुमलटारमा भेट भएको हो । भेटमा कांग्रेस पार्टी ठूलो पार्टी भएकाले फस्ट टर्म सभापति ज्युकै नेतृत्वमा जाऔं । पावर शेयरिङ गरौं भन्नु भयो,’ उनले भने, ‘प्रचण्डले यो पालि मलाई सहयोग गर्नुप¥यो भन्नुभयो ।’

नेता सिंह माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले प्रधानमन्त्री देउवालाई प्रचण्डसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गरेको लामिछानेले जानकारी दिए ।

प्रचण्डले पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि सत्ता गठबन्धनभित्र ‘पावर शेयरिङ’ मा कुरा मिल्न सकेको छैन । सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बिहीबार साँझ भएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । कुरा नमिलेपछि उनीहरू शुक्रबार अपरान्ह फेरि बस्ने गरी उठेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले सत्ताको पहिलो नेतृत्व गर्ने पुरानो समझदारी कार्यान्वयन गराउनुपर्ने अडान लिएका थिए । तर कांग्रेसले अहिले प्रचण्डलाई प्रधानमन्त्री दिन नसक्ने बताएपछि कुरा नमिलेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्