१४ सांसदको शपथ : भ्रष्टाचार नगर्ने प्रण
काठमाडौं, पुस ८ । बिहीबार २७० सांसदले शपथ लिए । जसमध्ये १४ सांसदले भ्रष्टाचार नगर्ने भन्दै लिए शपथ लिए । ती सांसदहरु हुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसदहरु दीपक बोहरा, ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), दीपक सिंह, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, पशुपतिशमशेर जबरा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली ।
राप्रपाका पशुपतिशमशेर जबराले जेष्ठ सदस्यको हैसियतमा सांसदहरुलाई हपथ खुवाउँदा राप्रपाकै बाँकी १३ सांसदले भ्रष्टाचार नगर्ने बाचाका लागि थप शपथग्रहण गरेका हुन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका सांसद बुद्धिमान तामाङका अनुसार ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भनेर १३ जनाले नै थप शपथ खाएका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०७४ मा पनि यही भनेर थप शपथ खाएका थिए । उनले यसपटकको शपथपछि उनले फेसबुकमा लेखेका छन्, ‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो ।’
०७४ को संसदमा उनी एक्लै थिए । यसपटक राप्रपाका १४ जना सांसद छन् । लिङ्देनले १४ जनालाई नै भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्ने भनी शपथ खुवाएका हुन् ।
यस्तै, मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरे । सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट गरेका हुन् ।
चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भगवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद जबराले सपथ ग्रहण गराएका हुन् ।
भगवत गीतामा कृष्णले अर्जुनलाई सत्यको पक्षमा लाग्न र असत्य, अन्याय, अत्याचारको विरुद्धमा लड्न शिक्षा दिएको हुनाले सोही मार्ग पछ्याउँदै आफूले पनि भगवत गीतालाई साक्षी राखेर कसम खाएको सांसद शर्माको भनाई छ ।















प्रतिक्रिया दिनुहोस्