प्रतिनिधिसभाका सांसदले लिए शपथ, लोगो पनि प्रदान

काठमाडौं, पुस ७ । प्रतिनिधिसभामा नव निर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।उनीहरुलाई ज्येष्ठ सदस्य ७१ वर्षीय सांसद पशुपति शमेशर जबराले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको निर्वाचन भएको ३३ दिनपछि २७५ सांसदले बिहीबार शपथ लिएका हुन् । शपथपछि सांसदहरुलाई सांसदको लोगो वितरण गरिएको थियो । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्