सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित, कारण यस्तो छ
काठमाडौं, पुस ७ । नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ।
उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन्।
जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।
सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।
‘वरिष्ठज्युहरु सर्वोच्च बारको अधिवेशनमा व्यस्त हुने भएपछि आजको पेशी हटाइएको छ,’ घिमिरेले भने, ‘अब अर्को बिहीबार सुनुवाइ होला।’
लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको थियो ।
सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सविता भण्डारी लगायतका वकिलहरु सर्वोच्च बारको अधिवेशनमा सहभागी हुने भएका हुन्।
नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए।
पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन्।
अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ।
तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबरजस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो।
प्रतिक्रिया दिनुहोस्