सरकारको नेतृत्व गर्न देउवा र प्रचण्ड आ-आफ्नै रणनीतिमा

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको संसदीय दलको नेताको चयन सकिएसँगै अब सरकार गठनमा ध्यानकेन्द्रित हुन थालेको छ । कांग्रेसको संसदीय दलको नेतामा सजिलो जित हासिल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अब आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पहल शुरु गरेका छन् ।

तर अहिलेको संसदीय अंकगणित अनुसार देउवालाई आफ्नो नेतृत्वमा सरकार बनाउन त्यति सजिलो भने देखिएको छैन । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्नु पर्ने अडान गठबन्धनमा राखेपछि देउवालाई अप्ठ्यारो परेको हो । प्रचण्डले प्रस्ताव राख्ना साथ देउवाले पार्टीको बैठक बसालेर कांग्रेसकै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गराएका थिए । अहिले विशेषत देउवा र प्रचण्डले एक अर्कामाथि दबाब बढाउने रणनीति अपनाइरहेका छन् । त्यसैले कहिले उनीहरु एमालेसँग छलफल गरिरहेको सन्देश एक अर्कालाई दिइरहेका छन् भने कहिले गठबन्धनको विकल्प खोज्ने बेला नभएको बताइरहेका छन् ।

देउवाको रणनिति

देउवा अहिलेको तरल राजनीतिक अवस्थामा ठुलो दलको हैसियतमा प्रधानमन्त्री र राष्ट्रिय कांग्रेसले लिएर अहिलेकै गठबन्धनलाई अगाडी बढाउने रणनीतिमा रहेका छन् । उनले सभामुख र उपराष्ट्रपति माओवादी केन्द्रलाई दिने र साढे दुई बर्षपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव औपचारिक र अनौपचारिक रुपमा प्रचण्डसँग पुर्याएका छन् ।

देउवा निकट एक नेताले खरीबोटसँगको कुराकनीमा देउवा अहिलेनै प्रचण्डलाई बाहिर राखेर अगाडी बढ्ने कुनै मनशायमा नरहेको बताए । उनले अहिलेसम्म भागबण्डाको औपचारिक छलफल नै नभएकोले सहमति हुने दाबि गरे । यद्यपी विभिन्न माध्यमबाट देउवा र प्रचण्ड दुवैले एक अर्कामाथि दबाब बढाईरहेको भने उनले स्वीकार गरे ।

उनले कांग्रेससँग माओवादी बाहेकको गठबन्धन बनाउने र एमालेसँग मिलेर सरकार बनाउने सम्मका विकल्प रहेका बताउदै देउवा अहिले पनि प्रचण्डसँग मिलेर अहिलेकै गठबन्धनलाई बलियो बनाएर अगाडी बढ्ने रणनीतिमा रहेको दाबी गरे ।

संसदमा ८९ सिट सहित ठुलो दल रहेको कांग्रेस प्रचण्डसँगको भागबण्डा नमिलेमा एमाले र माओवादी बाहेकको नयाँ गठबन्धन वा एमालेसँग मिलेर सरकार बनाउने विकल्प रहेको देखिन्छ ।

तर देउवा पक्षका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भने प्रचण्डसँगको सहकार्य तोड्नै नहुने पक्षमा रहेको बुझिएको छ । उनले देउवालाई अहिले कांग्रेसले राष्ट्रपति लिएर शुरुको दुई बर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि बनाएर अगाडी जानुपर्नेमा देउवालाई सम्झाइरहेको देउवा क्याम्पमा चर्चा रहेको छ । त्यस्तै राष्ट्रपति बन्ने सम्भावना रहेका रामचन्द्र पौडेलले पनि अहिलेको गठबन्धनलाई आफु पछि हटेर भएपनि निरन्तरता दिन देउवालाई सुझाव दिइरहेको बुझिएको छ ।

प्रचण्डको रणनीति

प्रचण्ड संसदमा तेस्रो ठुलो दल भएपनि अहिले प्रधानमन्त्री पदका प्रमुख दाबेदार देखिएका छन् । उनी अहिलेको गठबन्धनबाटै प्रधानमन्त्री बन्न चाहे पनि उनलाई एमालेले पनि प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने आश्वासन पाइसकेका छन् । तर प्रचण्ड अहिले नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भर गरेर अगाडी बढ्ने आत्मविश्वास बनिसकेका छैनन् । प्रचण्ड निकट एक नेताले खरीबोटसँग कुरा गर्दै अहिलेकै गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्ने दाबि गरेका छन् ।

निर्वाचनपछि परिवर्तनको सन्देश दिन पनि र यस अघि प्रचण्डकै प्रस्तावमा देउवा प्रधानमन्त्री बनेका कारणले अहिले यस पाँच बर्षको शुरुको साढे २ बर्ष प्रचण्ड प्रधानमन्त्री बन्ने र त्यसपछिको समय देउवा प्रधानमन्त्री बन्ने उनले दाबि गरे ।

प्रचण्डको पहिलो रणनीति अहिले शुरुमै प्रधानमन्त्री बन्ने र त्यसका लागि राष्ट्रपति र सभामुख लगायतका पदमा आफ्नो दाबी नगर्ने रहेको छ । प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउने सम्भावना भने अति कम रहेको बताइएको छ । अहिलेको गठबन्धनमा ठुलो समस्या नदेखिएकोले नेताहरु बसेर भागबण्डा मिलाउन सक्ने अवस्था रहेको माओवादी केन्द्रका नेताहरुको दाबि छ ।

प्रचण्डले केहि दिन अघि चितवन पुगेर गठबन्धनबाटै सरकार बन्ने दाबि गर्दै एमालेसँग तत्काल नयाँ गठबन्धन बनाउने तहसम्मको छलफल नभएको बताएका थिए । साथै उनले प्रधानमन्त्री पदका लागि सबैकुरा दाउमा नराख्ने बताउदै एमालेसँग सहमति नहुने संकेत गरेका थिए ।

तर प्रचण्डले आफुसँग कम्तिमा ६० सांसद रहेको सन्देश देउवालाई दिदै आफुलाई शुरुमै गठबन्धनबाट प्रधानमन्त्री बनाउन दबाब भने दिदै आएका छन् । उनले केहि दिन अघि माओवादीका महासचिव देव गुरुङलाई एमाले अध्यक्ष ओलीसँग भेट गर्न पठाएर देउवामाथि दबाब दिने प्रयास गरेका हुन् । त्यस्तै सुबास नेम्वाङले पनि प्रचण्डलाई भेटेर यसअघि नै एमालेले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने सन्देश दिएका छन् । तर पनि प्रचण्डको पहिलो प्राथमिकता अहिलेको गठबन्धनबाटै प्रधानमन्त्री बन्ने रहेको देखिएको छ ।

गठबन्धनको अंकगणित :

अहिलेको सत्ता गठबन्धनमा रहेको कांग्रेसको ८९, माओवादी केन्द्रको ३२, एकीकृत समाजवादीको १०, लोसपाको ४, जनमोर्चाको १ गरि कुल १३६ रहेको छ । गठबन्धन बहुमतबाट २ सिट पछाडी रहेको छ । यस्तो अवस्थामा गठबन्धनले जनमत पार्टीलाई साथ लिने निश्चित भएको छ । जनमत पार्टीको ६ सिट सामेल गर्दा अहिलेको गठबन्धनको १४२ सिट हुन्छ, जुन बहुमत भन्दा बढी हुन जान्छ । त्यस्तै एक स्वतन्त्र गरि ४ सिट रहेको नागरिक जनमुक्ति र केहि स्वतन्त्ररुपमा विजयी सांसद पनि अहिलेको गठबन्धनलाई सहयोग गर्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्