गठबन्धन बचाएर मुलुकको रक्षा गर्न देउवालाई समर्थन गरेँ : वरिष्ठ नेता पौडेल

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन्।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा मतदानपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्।

म गठबन्धन बचाएर मुलुक बचाउन चाहन्छु। गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि मैले शेरबहादुर देउवालाई समर्थन गरेको छु।’ पौडेलले भने।

राष्ट्रपति बन्नलाई देउवालाई सहयोग गरेको भन्ने पनि छ नि? पौडेललाई भन्ने संचारकर्मीको प्रश्न थियो। तर, उनले देउवालाई आफूले राष्ट्रपति बन्न समर्थन नगरेको बताए।

‘अहिले गठबन्धन बचाएर परिवर्तन बचाउने हो। यो संविधान बच्यो भने यो देश बच्छ। यो संविधान भन्दा ठूलो परिवर्तन अरु केही हुँदैन,’ उनले भने, ‘यो बचाउनका लागि गठबन्धन बचाउन पर्छ। गठबन्धन बचाएर मात्र संविधान बच्छ।’

नेपाली कांग्रेस संसदीय दलको नेता चयनको मतदान सकिएको छ ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको मतदानमा कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् ।

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा भएको हो।

प्रतिक्रिया दिनुहोस्