नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द
काठमाडौं, पुस ५ । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिँदैछन् ।
सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो । एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो ।
सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको हो ।
एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने बताइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा २० पुल रहेका छन् । तीमध्ये पाँच पुल बनिसकेका छन् । बाँकी पुल बन्ने चरणमा रहेका छन् ।
विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । सेती दोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे दुई वटा पुल तीन महिनाभित्रमा सम्पन्न हुने बताइएको छ ।














प्रतिक्रिया दिनुहोस्